दफा २२
खेल संघ स्थापना गर्न सकिने
(१) यो ऐन प्रारम्भ भए पछि राष्ट्रिय, प्रदेश तथा स्थानीय स्तरका खेल संस्थाहरुले प्रचलित कानून बमोजिम संघ, प्रदेश र स्थानीय तहका खेल संघ स्थापना गर्न सक्नेछन्‌।

(२) उपदफा (१) बमोजिम खेल संघ स्थापना गर्दा देहायको मापदण्ड पूरा गरेको हुनु पर्नेछः-

(क) एक खेलको लागि एउटा मात्र खेल संघ गठन भएको हुनु पर्ने,

(ख) खेल संघको विधानमा एउटै व्यक्ति एकै पटक एकभन्दा बढी खेल संघको पदाधिकारी हुन नसक्ने व्यवस्था हुनु पर्ने,

(ग) खेल संघको विधानमा प्रत्येक चार वर्षमा लोकतान्त्रिक पद्धति अनुसार खेल संघका पदाधिकारी तथा सदस्यको निर्वाचन हुने र प्रत्येक वर्ष संघको आय- व्ययको प्रचलित कानून बमोजिम लेखापरीक्षण गर्नु पर्ने व्यवस्था हुनु पर्ने,

(घ) खेल संघको पदाधिकारी तथा खेलाडीको लागि आचारसंहिता लागू हुने व्यवस्था हुनु पर्ने,

(ङ) तोकिए बमोजिमका अन्य मापदण्डहरु पूरा भएको ।

(३) उपदफा (१) बमोजिम गठन भएका खेल संघ वा संस्था स्वायत्त हुनेछन्‌ ।

(४) उपदफा (१) बमोजिम गठन भएका खेल संघका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ र खेल संघका पदाधिकारी सोही पदमा सामान्यतया पुनः एक पटकको लागि निर्वाचित हुन सक्नेछन्‌ । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “खेल संघका पदाधिकारी" भन्नाले संघको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सम्झनु पर्छ ।

(५) देहायका व्यक्ति खेल संघमा निर्वाचित वा मनोनीत हुन सक्ने छैनः-

(क) गैर नेपाली नागरिक,

(ख) राजस्व, सार्वजनिक वा सरकारी सम्पत्ति हिनामिना गरेको प्रमाणित भएको,

(ग) परिषद्बाट लिएको रकमको बेरुजु फछ्ल्यौंट गर्न बाँकी रहेको,

(घ) परिषद्को कर्मचारी वा प्रशिक्षक रहेको,

(ङ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण सम्बन्धी कसूर, सङ्गठित अपराध वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसूरमा एक वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएकोमा,

(च) राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा,

(छ) खेलाडीलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएमा ।